गगन-विश्वप्रकाशले बोलाए राष्ट्रिय भेला, विशेष महाधिवेशनबारे निर्णय गर्ने
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेलाको आयोजना गरेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आज राष्ट्रिय भेला हुन लागेको हो ।
भेला दिउँसो १ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा सुरु हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।
विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए ।
कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ।
सोअनुसार आगामी पुष २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा कांग्रेस परेको छ।
लामो समय बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे कुनै निर्णय नगरेपछि दबाब दिन विशेष महाधिवेशन पक्षधरले भेला राखेका हुन् । यो भेलाले विशेष महाधिवेशनबारे निर्णय लिने नेताहरूले बताएका छन् ।
भोलि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरूले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेला मार्फत दिने बताइएको छ ।
.gif)

.png)



