कांग्रेसमा आत्मविश्वास कमजोर भएको जस्तो देखियो : महामन्त्री थापा

भक्तपुर । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।
शनिबार बालकोटमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औं स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए ।
‘नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ । यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम कांग्रेसको काँधमा छ । देश बनाउन सक्ने कांग्रेसले हो भन्ने सन्देश दिने गरी काम गर्न आवश्यक छ,’ उनले भने, ‘पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ । त्यो डर त्यागेर कांग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौं ।’
महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका छन् ।