सोवितालाई सुनिताको चुनौती : भाषाको ज्ञान सिकाउन तयार छौं, गल्ती नदोहोर्‍याउनू


२०८२ असार २५ बुधबार १४:१३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रमको बहानामा नेपाली गएर उतै बसेको भन्ने आफ्नो अभिव्यक्तिको बचाऊँ गरेपछि एमाले सचेतक सुनिता बरालले आपत्ति जनाएकी छिन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर गौतमले मंगलबार आफूले बोलेको विषयलाई बङ्ग्याइएको आफ्नो भनाइ संसद्को रेकर्डबाट नहटाउन चुनौती दिएकी हुन् । ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेका छैन, स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिस कार्यक्रमको बहानामा गएर नफर्किएको भन्ने खालका समाचार आएका छन् भनेकी थिएँ,’ गौतमले भनिन् । प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डल फर्किए पनि, प्रधानमन्त्री गएको कार्यक्रममा गएका सयौं व्यक्तिहरू नफर्किएको गौतमले पुनः जिकिर गरिन् ।

गौतम बोल्दै गर्दा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले उठेर विरोध जनाइन् । उनले प्रधानमन्त्रीको टीमको फेहरिस्त दिन तयार रहेको बताउँदै बारम्बार संसद्मा उही गल्ती नगर्न रास्वपा सांसदलाई चुनौती दिइन् । ‘सरकार प्रमुखले राष्ट्रको गौर बढाएर आउँदा किन छटपटी भयो ? तपाईहरूको राष्ट्रप्रेम हामीले पटक–पटक देखिसकेका छौं, देखिरहेका छौं । यति धेरै छट्पटाहट किन भएको हो ? प्रश्नको जवाफ माग्न चाहन्छु र गल्ती नदोहोर्‍याउन चुनौती दिन्छु,’ बरालले भनिन् । गौतमले प्रधानमन्त्रीसँग गएका मानिस नफर्किएको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै एमाले सांसदले हिजो पनि संसद्मा आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्यको विवरण सार्वजनिक गरेको थियो । प्रधानमन्त्री ओली राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन असार १४ स्पेन गएर १९ गते स्वदेश फर्केका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७