झाँक्रीले जनाइन् जिम्मेवार पदाधिकारीको अभिव्यक्तिमा उल्टै आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीका जिम्मेवार तहका पदाधिकारीले समेत आफ्नोविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी छन् । पार्टी सचिवालय बैठक चलिरहेका बेला अध्यक्ष माधवकुमार नेपालका नाममा पत्र लेख्दै झाँक्रीले पार्टीका जिम्मेवार तहका पदाधिकारीले आफूलाई स्पष्टीकरण सोधिएको अभिव्यक्ति दिए पनि आफूलाई स्पष्टीकरण सोधिएको जानकारी नभएको बताएकी छन् ।
‘जिम्मेवार तहका पदाधिकारीका यस्ता अभिव्यक्तिले मलाईभन्दा पार्टीलाई क्षति भएको छ’, उनले भनिन् । झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत आफ्नाविरुद्ध हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाइन्। उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । त्यसबारे सोधिएको स्पष्टीकरणको जवाफ दिँदै उनले भनेका छन्, ‘यसरी उहाँहरू बोलिरहँदा पार्टी नेता र पार्टीलाई समेत क्षति भएको महसुस गरेको छु । पार्टी महासचिवले असार १५ गते निर्देशन जारी भएपछि पछि मैले यो विषयमा कहिँकतै प्रतिक्रिया दिइनँ ।’
पार्टीको तहको बैठकमा ने यो विषय कुरा राख्ने छु भनेर पनि चुप बसेको भए पनि जिम्मेवार सदस्य र पदाधिकारीहरू सुरुदेखि नै मिडियामा आएर निरन्तर बोलिरहनु भन्दै गुनासो गरिन् । उनले भनेकी छन्, ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । यो विषयमा मैले स्पष्ट गर्नुपर्ने नै हुन्छ । सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहन्न । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन ।’एकीकृत समाजवादीको सचिवालय बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने बताइएको छ । साथै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र अहिलेको परिस्थितिबारे छलफल हुने जनाइएको छ।