कांग्रेसकै सांसद थानीको रामहरिलाई प्रश्न : तपाईको कोर टिममा को–को छन् ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।
समितिबाट षडयन्त्र भएको सुन्दा दुःख लागेको उल्लेख गर्दै समिति सचिव जस्तो मान्छेले केही जानकारी छैन भनेर उम्किन नमिल्ने बताए । सांसद हृदयराम थानीले ‘ठूलाकै दबाबमा’ राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले निजामती विधेयकमा चलखेल गरेको आरोप लगाएका छन् ।
‘तपाईंले नपढेर सिग्नेचर गर्नु भएको भन्ने मेरो मनमा छैन । दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नु भएको हो’, बुधबार समितिको बैठकमा समितिका सदस्य समेत रहेका थानीले भने । ‘दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन । सभापति टाठोबाठोमध्येको सभापति हो । कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?’, उनले प्रश्न गरे ।
उनले अगाडि थपे, ‘यहाँ ठूलै समूहको हात छ, सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?’ उनले समितिका सभापति रामहरि खतिवडाले मनपरी गरेको पनि आरोप लगाएका छन् । उनले यस विषयमा संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । ‘सभापतिलाई इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नु भएको थियो ? कम्तीमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनु भयो’, उनले भने ।