संसद भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख


२०८२ असार १६ सोमबार १२:३० बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदलाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बलियो बनाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित संसद् दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् बहस, भाषण र नाराबाजी गर्ने मञ्च मात्र नबनोस् भन्नेमा जोड दिए । उनले संसद्को भूमिकालाई परिणाममुखी बनाउँदै गणतन्त्रप्रति जनताको वितृष्णा हटाउनेतर्फ सशक्त पहल गर्नुपर्ने बताएका हुन् ।

सभामुख घिमिरेले भने, ‘संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रूपमा विकास गर्नुपर्छ । जनताको आस्था बलियो बनाउने कुरामा संसद्ले महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।’ उनका अनुसार गणतन्त्रप्रति जनताको वितृष्णा बढाउने प्रयासहरूलाई निष्फल पार्नु अहिलेको प्रमुख आवश्यकता र कर्तव्य हो । संसद्ले यस्तो प्रयासलाई चिर्दै जनताको आशा र विश्वास कायम राख्नुपर्ने उनले बताए ।

सभामुख घिमिरेले पूर्वसांसदहरूको अनुभव, ज्ञान र क्षमताको प्रयोग गर्दै हालका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘पूर्व सांसदहरूसँग भएको योग्यता र क्षमतालाई वर्तमान चुनौती सामना गर्न प्रयोग गरिनु पर्छ । त्यसका लागि संसद् र सरकारले अझ धेरै काम गर्नुपर्ने देखिन्छ ।’ सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको पनि बताए । संसद्को प्रभावकारिता मात्र होइन, संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भइरहेकाले प्रणालीको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले उल्लेख गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७