सांसद सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, कांग्रेसले जनायो नियमापत्ति

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन्। आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन्।
उनले न्याय परिषदको औचित्य समेत समाप्त भएकाले विघटन गर्नुपर्ने माग गरेका । ‘न्यायपरिषदको औचित्य आवश्यकता छैन। न्यायपरिषद एउटा सिन्डिकेट हो। त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ किनकि यो राजनीतिक सिन्डिकेट हो।’ सिंहले भने, ‘दोस्रो कुरा नेता र न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्छ। म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान बिहान कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ। उच्चमा मुख्य न्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुलाई फोन गर्नु हुन्छ। त्यसकारण म माग गर्छु कानुनमन्त्रीको कल डिटेल्स बाहिर आओस्।’
उनले किन न्यायाधीशलाई फोन गरेको भन्दै न्यायालय प्रभावित पार्न नपाइने बताए। ‘कल डिटेल्स मागौँ गल्ती भए म सांसद पद त्याग गर्छु’, सिंहको भनाई छ। उनले पीडितहरूले न्याय पाउन नसकेको भन्दै दलले न्याय पाए पनि जनताले न्याय नपाएको बताए । उनले हरेक अदालत दलीय छायामा रहेको पनि बताए। सिंहले यस्तो बताइरहँदा कांग्रेसकी सुशीला थिङले नियमापत्ति जनाएकी थिइन् । उनले नियम २३ लाई उद्धरण गर्दै विषय समद्दता नभएकाले कानुन मन्त्रीको कल डिटेल्सको कुरा हटाउन माग गरिन्।