संसद बस्नुअघि प्रमुख सचेतकसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्। बैठकमा प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ।बानेश्वरस्थित कार्यकक्षमा अहिले सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल गरिरहेका छन् । छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौता, कांग्रेस सचेतक सुशिला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र कानुनमन्त्री अजय चोरसिया सहभागी छन्।
आजको प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अझै बैठक सुरु हुन सकेको छैन। जेठ १३ गतेयता प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ। जेठ १५ गतेको बैठकमा भने विपक्षी दलहरूले बजेट प्रस्तुत गर्न दिएका थिए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरुद्ध गर्दै आएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहमतिमा आइसकेको छ।