दुर्गा प्रसाईसहित सात जनालाई डिल्लीबजार कारागार लगियो


२०८२ जेठ ३० शुक्रबार १०:५१ बजे
फाइल फोटो

काठमाडौँ । काठमाडौंको तीनकुनेमा हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गरेका थिए।

पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए। राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु सात जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको हो । तर ती ६ जना भने धरौटी बुझाउना साथ रिहा हुनेछन् । 

अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ । अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ। उनीहरुलाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश ध्रुबराज कार्कीले आदेश दिएका छन्  हरिहर चौलागाई, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भिम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतलाई जनही एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतको आदेश छ।

यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ।  बाँकी १६ जनालाई १० हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश छ । 

पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटालाई १० हजारका दरले धरौटी माग गरिएको हो । यही मुद्दाका ११ जना प्रतिवादीहरु भने फरार छन् । फरार रहनेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत छन् । 

उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । दुर्गा प्रसाईसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा लागेको छ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन्  पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। दुर्गा प्रसाई र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरुले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरुपमा क्षति भएको थियो। सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो। आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७