सांसद केसीको प्रश्न : पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्। आज (मंगलबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए। खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिणलगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको बताए।
आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने उनले बताए। वैठकमा उनले पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्न गरेका छन्। गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिए पनि त्यतिले नपुगेको उनको भनाइ छ। ब्रिटिस गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उनले बताएका छन्। अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिने कुरा राम्रो नहुने बताएका छन्।