प्राथमिक तहमा दरबन्दी भन्दा बढी शिक्षक छन्, समायोजनको तयारीमा छौं : शिक्षामन्त्री


०८:५८ बजे
फाइल फोटो

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताएका छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको उल्लेख गरे ।

शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासंघसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताए । ‘उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास दु्रतगतिमा अगाडि बढ्ने विश्वाससहित महासंघसँग सहकार्य र समन्वय आवश्यक परेको हो’, उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको विकासका लागि यथास्थितिमा बजेट छुट्याइएकाले उल्लेख्य उपलब्धि प्राप्त गर्न केही असहज हुनसक्ने मन्त्री पन्तले धारणा राखे । ‘विदेशको तुलनामा नेपालमा शिक्षा क्षेत्रमा बजेट कम छुट्याउने गरिन्छ, त्यसले समग्र विकासमा केही बाधा पर्ने देखिन्छ । चालु आवमा जति बजेट थियो, त्यति नै आगामी आवका लागि छुट्याउँदा शिक्षा क्षेत्रको विकास गर्न केही असहज परिस्थिति आउनसक्ने अनुमान गरेका छौँ’, उनले भने।

शिक्षामा नयाँनयाँ प्रविधि र अभ्यासको प्रयोग विकास हुँदै गएकाले शिक्षक पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताउँदै मन्त्री पन्तले गुणस्तरीय शिक्षण सिकाइ र व्यावहारिक शिक्षामा जोड दिन उनले सम्पूर्ण शिक्षकलाई आग्रह गरे । ‘प्राथमिक तहमा दरबन्दीभन्दा बढी शिक्षक भएकाले ती शिक्षकलाई निम्न माध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने तयारीमा छौँ’, उनले भने । 

शिक्षक महासंघसँग भएका नौ बुँदे सहमतिप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री पन्तले शिक्षा विधेयक पारित गर्न शिक्षकहरूको सहयोगको आवश्यकता औंल्याए । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले विद्यालय तहको शिक्षामा सुधार गर्ने प्रमुख जिम्मेवारी प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकको भएकाले विद्यालयमा शैक्षिक वातावरण बनाउन आग्रह गरे । ‘शिक्षकहरूले आफ्नो अधिकार मात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ’, उनले भने । 

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै शिक्षामा नयाँ प्रविधि र अभ्यास प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे । सम्मेलनमा सात वटै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक, विद्यालय, पालिका तथा दीर्घसेवा प्रदान गरेका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले शिक्षा क्षेत्रका समग्र पक्षलाई समेटेर पोखरा घोषणापत्र जारी गरिने पानले जनाएको छ । उक्त कार्यक्रम पानका अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७