अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म


१४:५७ बजे

–मधु शाही
काठमाडौं । सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा के–के पाइन्छ ? अब भने त्यस्तो टिकटमा रायोको साग, असला माछा, सुन्तलादेखि अछामे गाईसमेत देख्न पाइने भएको छ । 

हुलाक टिकट विभागले आजदेखि सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, भैँसी लिमे, पारकोटे आठ वटा रैथाने कृषिका आकृति र ब्रम्हलिन राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण गरी नौ वटा नयाँ हुलाक टिकट आवरणमा प्रचलनमा ल्याएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यी सबै प्रथम टिकट आवरणमा आज टाँचा लगाएसँगै यसको महत्व र आवश्यकतामाथि चर्चा गरे । 

विभागमा केही महिनाअघि सञ्चारमन्त्री गुरूङले रायोको साग र लिमे भैँसीको गुणबारे निकै चर्चा गरेका थिए । आफू सानो छँदा भैँसी चराएका दिन अनि बारीमा छाता जस्तै ठूला पात भएका रायो साग खाएको क्षण निकै आनन्दित हुन्थ्यो भन्दै हुलाक सेवा विभागमा टिकट टाँचा लगाउने प्रसङ्ग सुनाएका थिए । उनले बाल्यकाल, साग र भैँसी चराउनुका अनुभव समयसँगै लोपोन्मुख हुँदै गएको प्रसङ्ग जोडेका थिए । लोपोन्मुख हुन लागेका यिनै रैथाने फलफूल, सागसब्जी, गाईभैँसी मात्रै नभई नेपालमा पाइने कलासंस्कृति र सम्पादहरूको संरक्षण गर्नुपर्ने जोड उनको छ । 

पछिल्लो समय लोपोन्मुख कला संस्कृति र सम्पादको संरक्षण गर्ने ऐतिहासिक दस्तावेजका रूपमा हुलाक टिकट भरपर्दो माध्यम बन्दै आएको छ । हुलाक सेवा विभागलाई मन्त्री गुरूङले दिएको तिनै रैथाने बाली, वस्तु तथा सम्पदालाई महत्व दिएर आज नौ वटा हुलाक टिकटमा प्रथम आवरणमा टाँचा लगाएको हो । 

रैथाने कृषि आनुवंशिक स्रोतअन्तर्गत ‘लिमे भैँसी’ नेपालको स्थानीय जातका भैँसी हो । यो पश्चिम पहाडी भेगका जिल्ला कास्की, स्याङ्जा, पर्वत, बागलुङ तनहुँ र लमजुङमा बढी संख्यामा पाइने भएपनि नेपालको सबै पहाडी जिल्लामा पालिने गरेको हुलाक विभागका अधिकृत चन्द्रा थापाले बताए । उनका अनुसार उक्त भैँसी कैलो रङको हुने र यसको छालाको रङ फिका खैरोदेखि कालोसम्मको हुन्छ । लिमेको दूध स्वादिलो तथा घृतांशको मात्रा बढी भएको हुनाले ग्रामीण क्षेत्रमा कृषकहरूले बढी मन पराएका छन् ।

यसका आँखी भौँ सेतो हुन्छन् । यसको चिउँडोमुनि र छाती वरपर हुने खैरो वा सेतो धर्से रौँ यिनीहरूको फरक छुट्याउने एक ठेट लक्षण रहेको उनले कार्यक्रममा उल्लेख गरे । नेपालमा पहिचान भइसकेको भैँसीका नश्लहरूमध्ये लिमे भैँसीको शरीरको आकार र तौलका दृष्टिकोणले सबैभन्दा सानो नश्लको भैँसी हो रहेको छ । यो भैँसीको देशको सीमित क्षेत्रमा मात्र पालन गरिने भएकाले यसको क्षमताअनुसार संरक्षणका लागि ध्यान पुर्‍याउन आवश्यक छ रहेको पनि उनले जानकारी दिए । 

त्यस्तै, अर्को टिकटको आवरण हो सुन्तला । नेपालमा परापूर्वकालदेखि नै खेती गरिँदै आएको रैथाने फल सुन्तला हाल नेपालको सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । सुन्तलाखेती नेपालको ६५ वटा जिल्लामा खेती गरिन्छ । हुलाक टिकटमा यसको फोटो राखेर राष्ट्रियस्तरमा प्रचारप्रसार गरी उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी माग बढाउन सकिन्छ भन्ने हुलाक सेवा विभागको निष्र्कष छ । 

यसैगरी, लोपोन्मुख रैथाने कृषिमा परेको छ, पुत्का मौरी । पुत्का मौरी, मौरी प्रजातिमा पर्ने सबैभन्दा सानो आकारको मौरी हो । यी मौरीको शरीरमा खिल नहुनाले यसले अन्य मौरीले झैँ चिल्दैनन् । पथ्वीमा झण्डै ५०० यो प्रजातिका यी मौरीहरू पाइन्छन् । यी मौरीहरू संसारको उष्ण र उपोष्ण हावापानी पाइने क्षेत्रमा बसोबास गर्ने प्रजातिको मौरी हुन् । यी मौरीहरू वनजङ्गलका पुरानो धोद्रो मढुर रूखमा वा जमिनमनि गोला बनाई नेपालमा समुद्र सतहबाट हजार मिटर उचाइसम्मको क्षेत्रमा वसोबास गरेको पाइन्छ । 

पुत्का मौरी जलवाय परिवर्तनको प्रभावका कारण हजार मिटर उचाइभन्दा माथि पनि वसोवास गरेको भेटिन्छ । नेपालमा ‘मेलिपोना स्पेसिस्’ को पत्का मौरी पाइन्छ तर संरक्षणको अभावका कारण यो प्रजातिको मौरी लोपोन्मुख अवस्था रहेको छ । खासगरी नेपालको बाँके, बर्दिया र दाङ जिल्लामा पत्कामौरी पाइन्छ । मह उत्पादन कम भए पनि औषधिका रूपमा प्रयोग गर्न सकिने भएकाले यस मौरीको महको महत्व बढी छ । 

नेपालमा सरल र सर्वसुलभ रूपमा जहाँ पनि पाइने तरकारीका रूपमा रायोको सागको चर्चा बढाउन हुलाक टिकट विभागले हुलाक टिकट तयार पारेको छ । रायोको साग, बहुउपयोगी, स्वास्थ्यका लागि अनेकौँ फाइदैफाइदा भएको विशेष जाडो (हिउँद) महिनामा पाइने विभिन्न हरियो सागपातमध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो।यसको खेती नेपालको तराईदेखि उच्च पहाडसम्म नै गर्न सकिन्छ ।

प्रायः नेपालका सबै किसिमको माटोमा गर्न तर तराई र मध्यपहाडमा यो हिउँदेबाली हो भने उच्च पहाड जहाँ तुसारो र हिउँ पर्दछ त्यस्तो इलाकामा ग्रीष्म याममा खेती गरिन्छ। रायोको तरकारी औषधिय गुणले भरिपूर्ण हुन्छ । यसलाई उपभोग गर्दाजोर्नी र हड्डी बलियो बनाउँछ, भिटामिन प्रशस्त मात्रामा हुनाले, रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुनेक्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाका लागि रायोको साग लाभकारी हुन्छ । रायोको सागमा भिटामिन ए, सी र के प्रचुरमात्रामा, स्मरणशक्ति बढाउँछ, मुटु बलियो बनाउँछ, क्यान्सरबाट जोगाउँछ, डन्डीफोर कम गर्छ, गर्भवतीलाई लाभ गर्छ । 

त्यसैगरी अबदेखि हुलाक टिकटका रूपमा नौमुठे गाई (अछामे) पनि देख्न सकिन्छ । नेपालको राष्ट्रिय गाईलाई हिन्दूहरूको पहिचान, प्रतिष्ठा र सभ्यताको संकेतका रूपमा लिइन्छ । नेपालमा गाईका मुख्य नौ वटा प्रजातिमध्ये सात प्रजातिका गाई घरमा पालिन्छन् भने गौरीगाई र नीलगाई गरी दुई प्रजातीका गाई जङ्गलमा पाइन्छन् । 

घरमा पालिने गाईमध्ये गौरी गाई सबैभन्दा ठूलो प्रजाति हो भने नौमुठे गाई सबैभन्दा सानो प्रजाति हो । नौमुठे गाई उत्पत्तिस्थल अछाम जिल्लामा भएको मानिन्छ । त्यसैले यसलाई अछामी गाई पनि भनिन्छ । यस गाईलाई ‘नौ मुठे गाई’ भनिनुका कारण यसको उचाई लगभग नौ मुठी हुनु, हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने (करिब ८० सेन्टिमिटर) भएको भनिएको हुलाक सेवा विभागले जनाएको छ । 

भगवान् गोरक्षनाथले गौ संरक्षणका क्रममा अछामको देवीथुममा आइ सप्तऋषिहरूलाई पवित्र धार्मिक स्थल द्वादश ज्योतिर्लिङमध्येको वैद्यनाथ क्षेत्रमा नौमुठे गाईलाई संरक्षण तथा प्रवद्र्धन गर्न जानकारी दिएको किंवदन्ती रहेको विभागको अध्ययनले प्रष्ट पारेको छ । 

यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा लिइने र यस प्रजातिका गाईहरूले एक वेतमा करिब २०० लिटरसम्म दूध दिने गरेको विभागको अनुसन्धानले बताएको छ । धार्मिक पर्व तथा तीर्थ व्रतमा यसको दूधलाई विशेष रूपमा आवश्यक मानिन्छ । हाल यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ । सहरीकरण, बजारीकरण र आधुनिकीकरणले नौ मुठे गाईको संख्या दिनानु दिन घटिरहेको छ । अछामबाट तीव्र बसाइँसराइका कारण पनि नौमुठे गाई संरक्षणको अभावमा छ । उन्नत जातका गाईको विकासले गर्दा पनि नौ मुठे गाई संरक्षणको ओझेलमा पर्दै गएको छ।

त्यसैगरी नेपालको हिमनदी तथा चिसो पनि बहने खोलामा असला माछाको पनि टिकट आवरण प्रचलनमा आएको छ। असला माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति पाइने गर्छ । नेपालमा ६०० देखि तीन हजार ५०० मिटरको उचाइसम्म असला माछा पाइन्छ । असला माछा देश तथा विदेशमा पनि चर्चित छ । चर्चा र महत्त्व बढी भएकै कारण आलो माछा र सुकुटीको अत्यधिक माग बढेको छ । निकै स्वादिलो हुने भएकाले यसको माग बढेपछि यसको मूल्य पनि बढेको छ । अहिले ताजा माछाको प्रति किलो रू एक हजारभन्दा माथि र सुकुटी पारेकालाई प्रतिकिलो १० हजारसम्म छ। यो माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । विदेश पठाउनका लागि सुकुटीको माग धान्न गाह्रो परेको छ । सबैको रोजाइमा पर्न थालेसँगै खोलामा पाइने माछाको संख्यामा कमी आएको र जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि नदी तथा यसका सहायक नदीहरूमा माछा पाउन मुस्किल रहेको विभागले उल्लेख गरेकोछ । 

यति मात्र होइन अब भने हुलाक टिकटमा खरी बाख्राको आवरण पनि हेर्न सकिन्छ । हुलाक सेवा विभागले खरी बाख्राको टिकट आवरण अनावरण गरेसँगै यसको महत्त्व र अवस्था उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी भेगमा पाइने बाख्रालाई खरी बाख्रा भनिन्छ । यसलाई कतैकतै पहाड़ी बाख्रा वा औले बाख्रा पनि भनिन्छ । खरीबाख्रा पहाडी बाख्राभित्र पनि रङका आधारमा छ उपजाति वा उपप्रकार सेती, काली खैरी, घोर्ली, सिँगारी र धोबिनी रहेको छ। 

खरी जात नेपालको कूल बाखाको जनसंख्याको ५० प्रतिशत बढी हिस्सा ओगटेको मानिन्छ । खरी बाख्रा फरकफरक रङका हुन्छन् । यो आकारमा सानो हुन्छ र यसलाई सामान्यतया पहाड़ी वा औले बाख्रा भनिन्छ  । नेपालको पहाडी र भित्रीपहाडी क्षेत्रमा ३०० देखि एक हजार ५०० मिटरको उचाइमा पालिन्छ । आवश्यक बोकाको शारीरिक तौल ४० देखि ४५ केजी तथा बाख्रीको २५ देखि ३५ केजीसम्म हुन्छ । यी जातहरूले औसत १६ महिनामा पहिलो बच्चा जन्माउन सक्छन् र दुई वर्षको अन्तरालमा तीन पटक जन्म दिनसक्छ । 

आम किसान विदेशी बाख्रा भन्दैमा राम्रो हुन्छ भन्ने मानसिकताका नेपालमा पाइने रैथाने बाख्राको संख्या घट्दै गएको छ। ‘व्यावसायिक बाख्रापालनमा क्रस ब्रिडिङ गराउनेक्रम बढेकाले रैथाने बीउ हराउने खतरा बढ्दै गएको छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएको र स्वादिलो मासुका लागि परिचित रैथाने बाख्राको बीउ कालान्तरमा अभाव हुनेतर्फ सचेत हुनुपर्छ’, विभागले भनेको छ ।

विभागका अनुसार खरी बाख्रामा रोगसँग लड्नसक्ने क्षमता बढी र कठोर हावापानीमा अनुकूल र कम भरण प्रणालीमा पनि उत्पादन गर्नसक्ने विषेशतार खाँदा समेत स्वादिलो हुन्छ । परम्परागत चरन व्यवस्थामा यो बाख्रापालन गर्न सकिन्छ। नेपालको हावापानी सुहाउँदो, उत्पादन खर्च कम लाग्ने यो रैथाने बाख्राको संरक्षण गर्न आवश्यक छ । हुलाक टिकेटमा खरी बाख्राको छाप राखेमा आम बाख्रा पाल्ने किसानलाई खरी जातको बाख्रापालनमा ध्यनाकर्षण हुने विभागको धारणा छ । 

यसैगरी अर्को मुलुकको तल्लोदेखि उच्च पहाडमा पाइने पारकोटे भैँसी पनि हुलाक टिकटमा पाइनेछ । यसको महत्व महसुस गर्दै आज हुलाक टिकट सार्वजनिक गरिएको हो । पारकोटे भैँसीहरू मुलुकको तल्लोदेखि उच्च पहाडभर छरिएर रहेका छन् भने मुख्यगरी मध्यपहाडमा बढीमात्रामा पाउन सकिन्छ । पारकोटे भैँसी मुख्यतः कालो रङको हुन्छ तर कहिलेकाहीँ खैरो र फिका खैरो रङमा पनि पाइन्छ । यो भैँसी लाम्चो अनुहार र चेप्टो टाउको भएको हुन्छ ।

सिंङ तरवार आकारको र शरीरको पछिल्लो भागतिर फर्केको हुन्छ । यसको मध्य कद र शरीरको लम्बाइ लिमेको दाजोमा अलि वढी हुन्छ । यसको शरीरमा कुनै पाटा वा धर्सा हुँदैन । यसको थुतुनो वा मुख कालो हुन्छ । यो नश्लका भैँसीहरूको शारीरिक लम्बाइ, काँधको उँचाइ, अस्थीको उँचाइ र छातीको गोलाई सरदर १२७ सेमी, १२४ सेमी, ११९ सेमी र १७७ सेमी पाइएको छ । यो भैँसीको शारीरिक तौल सरदर ४०७ केजी पाइएको छ । यो भैँसीको स्वभाव अर्ध–उदण्ड किसिमको हुने गर्छ । 

त्यसैगरी ब्रम्हलिन राष्ट्रशन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण समेट हुलाक टिकटका रूपमा टाँचा प्रदान गरिएको छ । विसं १९९४ बागलुङमा जन्मिएका महाराजले हिन्दूधर्म संस्कृति संरक्षणमा दिएको योगदान प्रशंसनीय रहेको हुँदा हुलाक टिकटमार्फत सम्मान प्रदान गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताइन् । महाराजले आफ्नो जीवनकालमा नेपालका विभिन्न ४० वटा जिल्लामा आश्रम गुरूकुल, मठमन्दिर विद्यालयको स्थापना र स्तरवृद्धि स्थापना गरिएका धार्मिक तथा शैक्षिक संरचनाहरू निर्माण गरेका छन् । 

पहिचान र संस्कृति एवं सम्पदालाई समेट्नेगरी विभागले तयार गरेको हुलाक टिकटमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरूङले टाँचा लगाएका हुन् । उनले आगामी दिनमा हुलाक विभागले राजनीतिक विषयबाहेकका अझै ओझेलमा परेका संस्कृति, सम्पदा, जनजीवन समेटिने रैथाने वस्तुको संरक्षण गर्न आवश्यक रहेको बताए। सो अवसरमा सञ्चार सचिव राधिका अर्यालले हुलाक टिकट आफैँमा ऐतिहासिक दस्तावेज भएकाले यस्ता लोपोन्मुख रैथाने संस्कृतिको संरक्षण गर्नुपर्ने राज्यको दायित्व रहेको बताए । महानिर्देशक पङ्गेनीले हुलाक टिकटमार्फत हराएकालाई संरक्षण, लुकेकालाई प्रचार र विभूतिलाई सम्मान गर्ने कार्यमा अग्रसर रहेको जानकारी दिइन्। रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७