सिन्धुली–बर्दिबास सडकमा सहयोगका लागि जापानलाई नेपालको धन्यवाद

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार (जेठ ३) शिष्टाचार भेटवार्ता गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका निम्ति हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले सोही कार्यक्रमस्थल होटेल सोल्टीमा ‘साइडलाइन’ भेट गरेकी हुन् ।
मन्त्री राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरिन् । साथै, उनले सिन्धुली–बर्दिबास बाटोको पुनर्निर्माण एवं मर्मत–सम्भारका निम्ति सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरिन् ।
गत वर्ष अविरल वर्षाका कारण उक्त बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित त्यो बाटोको मर्मत तथा पुनर्निर्माणनिम्ति नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको छ । यस्तै, मन्त्री राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलागायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका निम्ति पनि धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता र सहयोगका निम्ति जापानसँग आग्रह पनि गरेकी थिइन् ।