बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा


२०८२ जेठ ३ शनिबार ११:४७ बजे

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ। संघीय सरकारको तीन करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन् ।

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेकोे बताइन् । घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ । खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले सुनाइन्।

उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाकाअनुसार उक्त आयोजना अन्तर्गत तीनवटा मुहानबाट पानी संकलन गर्न तीनवटा ट्याङ्की निर्माण गरिएको छ । तीमध्ये दुईवटा ५०–५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । आयोजना पूरा भएसँगै करिब ९०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

म्याग्दे–५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए । उनकाअनुसार, अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ । विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकामा अहिले भने उनीहरू घर र व्यवसायिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय, प्रदेशर स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए । खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमाकाम गरिरहेको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७