गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड
‘०६४ को जस्तै माओवादीको हात बलियो बनाइदिनुस्’

बैतडी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन्। आज (शुक्रबार) बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो। अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने।
उनले भने, ‘यो सबै कारणले सरकार गलत दिशातिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ।’ सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्य पहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जाने छौं । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशातिर हिँडेको छ ।’
जनताको आवाजलाई, जनताको मतलाई बेवास्था गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतीलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई–मधेश–पहाड–हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनको भनाइ थियो ।
‘०६४ को जस्तै माओवादीको हात बलियो बनाइदिनुस्’
अध्यक्ष ‘प्रचण्ड’ ले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन् । प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले जित्नुपर्ने बताएका हुन् । ‘साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हक अधिकार सुनिश्तित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ । जसले यो व्यवस्था ल्यायो त्यो बलियो हुनुपर्छ,’ उनले भने, ‘०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक र सामाजिक क्षेत्र बलियो हुनेछ ।’त्यस्तै उनले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस–एमालेसहितको गठबन्धन बनाएर सरकार बाहिर पुर्याएको आरोप लगाए ।
‘बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे । तर पनि हामीले खबरदारी गरिरहेका छौँ । सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी भनिरहेका छौँ । पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो । त्यसकाविरुद्ध अहिलेको गठबन्धन सरकार बन्यो । धेरै भ्रष्टाचार काम अघि बढाउँदै छन् । भूमि अध्यादेश हेरौं । गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन् । यो गलत दिशातिर सरकार गएको छ । हामी त्यसलाई चुनौती दिएर हिँडेका छौँ ।’