लगातार घटिरहेको सुनको भाउ फेरि बढ्यो

काठमाडौं । केहि दिनयता लगातार घटिरहेको सुनको भाउ आज (शुक्रबार) भने उकालो लागेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । हिजो तोलाको तीन हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि व्यापक मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यता चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको छ । यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको थियो ।