निजामती विधेयक पारित : दुुई वर्ष कुलिङ पिरियड, अतिरिक्त सचिव र ६० वर्ष उमेर हद

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । समितिको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
विधेयकमा विवादित विषय रहेका कुलिङ पिरियड र अवकाश उमेर ५८ बाट ६० बनाउँदा लागु गर्ने विधि विवादमा थिए । यी विषयमा कुलिङ पिरियड दुुई वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्याउँदा १–१ वर्ष गर्ने गरी लागू गरिएको हो । विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको सभापति खतिवडाले जानकारी दिए ।
अन्तिम समयमा जुटेका सहमतिका विषय प्रतिवेदनमा समेट्नका लागि आन्तरिक बैठक बस्ने बताइएको छ । विधेयकका विवादित विषयमा छलफल गर्नका लागि सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । उपसमितिले गोप्य बैठक राखेर दफावार छलफल समेत गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेस भएपछि विधेयकका विवादित विषयमा मात्रै छलफल भएको थियो ।