सगरमाथा चढ्दै कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणको अनुमति पाएका छन् । अहिले अभ्यासका लागि आधार शिविरमै रहेका शर्माले आरोहरण अनुमति पाएका हुन्। पर्यटन विभागले आज बिहीबार आरोहण अनुमति दिने निर्णय गरेको हो ।
‘नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय विश्वप्रकाश शर्माले पर्यटन विभागवाट सगरमाथा आरोहण अनुमतिपत्र प्राप्त गर्नु भएको छ,’ पर्यटन विभागको सूचनामा भनिएको छ । अबको १० दिनपछि उनको आरोहण यात्रा सुरु हुनेछ । शर्माको सचिवालयका अनुसार उनी अहिले तेङ्बोचे आधार शिविरमा छन् ।
महामन्त्री शर्माका स्वकीय सचिव दिनेश थापा मगरले पनि महामन्त्री शर्मा सगरमाथा आधार शिविरमै रहेको र सगरमाथा आरोहणका लागि अनुमति लिइएको जानकारी दिए। ‘महामन्त्री ज्यू केही दिनदेखि सगरमाथा आधार शिविरमै हुनुहुन्छ, मौसम र स्वास्थ्यले साथ दिएमा उहाँले यसैपालि सगरमाथा आरोहण गर्नु हुन्छ,’ उनले सुनाए । यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए ।