युट्युबबाट सीप सिकेर उद्यमी बनिन् बसन्ती


२०८२ जेठ १ बिहीबार १५:५३ बजे

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन। केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी छन् । उनले महिनामै ६० हजार बढीको कारोबार गर्छिन् । खर्च कटाएर ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्‍यो । बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सिर्जनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् ।

फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । ‘इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निक्र्यौल गरी व्यवसाय सुरु गरें’, चन्दले सुनाइन् । 

एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाखको सामान थपेकी छन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, संघसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन् ।

बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन् । भविष्यका लागि भनेर उनले मासिक आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छन् । ‘घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु’, चन्दले भनिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७