सरकार विचौलियाले बनाई दिएको भन्ने प्रचण्डको अभिव्यक्ति पूर्वाग्रहले प्रेरित : एमाले

‘नीति तथा कार्यक्रम विगत भन्दा यथार्थपरक र कार्यान्वयन योग्य छ’


२०८२ बैशाख २८ आइतबार ०६:४९ बजे

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दावी गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । सरकारको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानुनी दृष्टिले कमजोर र स्रोतसाधनविहीन नरहेको जिकिर गरे।

यस्तै बर्तौलाले प्रमुख प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि सिर्जनात्मक आलोचना नभई विरोधका लागि मात्र आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। बर्तौलाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा पटक–पटक यो सरकार बिचौलियाले बनाएको भनेर अभिव्यक्त दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विशेष गरी प्रमुख प्रतिपक्षी दलको तर्फबाट र दलको नेताबाट यो संसद्मा उहाँले गर्नु भएको सम्बोधन हामीले सुन्यौं । असाध्यै पूर्वाग्रह प्रेरित ढंगबाट राजनीतिक प्रवचनको हिसाबले, नीति तथा कार्यक्रममाथि रनात्मक ढंगले भन्दा पनि सरकारको आलोनाको हिसाबले मात्रै विषय राख्नुभयो ।’

यो सरकार बिचौलियाले नभइ संसद्ले संविधान अनुसार बनाएको बर्तौलाको भनाइ छ। ‘यो संसद्मा उहाँले फेरि पनि दोहोर्‍याउनु भयो, यो सरकार बनेको पहिलो दिनदेखि उहाँले भन्दै आउनु भयो–यो सरकार दलालले बनाएको हो, बिचौलियाहरुले बनाएको हो। लगायत लगायत,’ उनले भने, ‘उहाँले फेरि पनि नीति तथा कार्यक्रमको छलफलको क्रममा उहाँले यो दोहोर्‍याउनु भयो। म आग्रह गर्न चाहान्छु–यो सरकार यो संसद्ले बनाएको हो। संविधान बमोजिम यो संसद्ले बनाएको हो।’

बर्तौलाले पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिबाट सरकार बिचौलियाले बनाएको भनेर पटक–पटक सुन्न परेको भन्दै त्यसप्रति विरोध समेत जनाए। ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँले हरेक पटक बिचौलीया, दलाल, माफिया। यस्तो खालको असाध्यै अराजनीतिक, असंसदीय शैलीको हामीले पटक–पटक सुनिरहेका छौँ,’ उनले भने, ‘सुन्न परिरहेको छ। म यसमा दुःख व्यक्त गर्न चाहन्छु ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७