गभर्नरमा सिफारिस समितिकै विश्व पौडेलको चर्चा


२०८२ बैशाख २८ आइतबार ०४:२१ बजे

काठमाडौं । लामो समयदेखि विवादित गभर्नर नियुक्ति प्रक्रियामा नयाँ–नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको नाम चर्चामा आएको छ। पछिल्लोपल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको स्रोतले जनाएको छ । 

शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको स्रोतले जानकारी दिएको छ । पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने देखिएको बताएका थिए । ‘ओलीजीले गभर्नरमा हामीलाई धोका दिनु हुन्न’, देउवाको भनाई उद्धृत गर्दै स्रोतले सुनायो, ‘सकेसम्म भट्टलाई बनाउने नभए अर्को व्यक्तिलाई सिफारिस गर्नुपर्छ ।’

कांग्रेसले यसअघि नबिल बैंकका तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस गर्नेबारेमा पनि छलफल गरेको थियो । वैशाख ५ गते भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कायम मुकायम गभर्नर नीलम ढुंगानाले राजीनामा स्वीकृत गरेकी छैनन् । ढुंगाना स्वयम् गभर्नरको आकांक्षी छिन् । पदावधि सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानूनी प्रावधान रहे पनि दलहरुबीचको दाउपेचले ढिलाइ भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७