पाकिस्तानको आक्रमणबाट दुई भारतीय सैनिक र एक प्रहरी मारिए

काठमाडौं । पाकिस्तानी सेनाले शनिबार गरेको गोलीबारी र ड्रोन आक्रमणमा दुई भारतीय सेना र एक प्रहरी मारिएका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार हमलामा एक बीएसएफ सब–इन्स्पेक्टरको पनि ज्यान गएको छ ।
सात जना बीएसएफ सैनिक घाइते भएका छन् । यो भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता हुनुअघि शनिबार बिहानको घटना हो ।
मेजर पवन कुमार
हिमाचल प्रदेशका सुबेदार मेजर पवन कुमार पुंछको कृष्णा घाटी सेक्टरमा तैनाथ थिए । शनिबार बिहान उनको पोस्टनजिकै एउटा तोप विस्फोट भयो र उनी सहिद भए । आरएस पुरा सेक्टरमा रातभर भएको गोलाबारीमा जम्मु–कश्मीर लाइट इन्फन्ट्रीका २५ वर्षीय राइफलम्यान सुनील कुमार घाइते भएका छन् । पछि उनको मृत्यु भएको जनाइएको छ ।
सुरेन्द्रकुमार मोगा
भारतीय वायुसेनाको ३६औँ विङमा मेडिकल असिस्टेन्टका रूपमा काम गर्ने ३६ वर्षीय सार्जेन्ट सुरिन्दर कुमार मोगा जम्मु कश्मीरको उधमपुरमा तैनाथ थिए । पाकिस्तानी सेनाको आक्रमणमा उनले ज्यान गुमाए । उनी सुरुमा बेंगलुरुमा तैनाथ थिए तर बढ्दो टकराबपछि चार दिनअघि मात्र उनलाई उधमपुर पठाइएको थियो ।
बीएसएफ जवान सहिद
आरएस पुरा सेक्टरमा अन्तर्राष्ट्रिय सीमामा पाकिस्तानी सेनाको भारी गोलीबारीमा बीएसएफ युनिटका सब–इन्स्पेक्टर मोहम्मद इम्तियाजको मृत्यु भएको छ । उनीसँगै अन्य सात जना घाइते भएको एक अधिकारीले बताएका छन् । यसैबीच मुख्यमन्त्री उमर अब्दुल्लाहले सीमापार गोलाबारीबाट मारिएकाहरूको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिन घोषणा गरेका छन् ।