बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण गरेका हुन् ।
निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए । सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउँछन् । ‘साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त’, भन्ने प्रश्नमा खनाल भन्छन्, ‘कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरूरी छ ।’
उनले बुद्धिसागरको पटकथालाई चलचित्रको शैलीमा रूपान्तरण गरेर चलचित्र कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम सुरू गरेको बताए । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, चलचित्रमा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ । निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।
‘मैले मनछुने चलचित्र तयार गरे जस्तो लागेको छ । किनकी यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो। यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ’, निर्देशक खनालले भने। अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनाललेझैं पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताए । आफै लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार छन् ।
‘पात्रलाई चलचित्रमा जसरी सुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफै लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्’, उनले भने । ‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकसँगै अभिनेता समेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ । ‘हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्गानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ । हामीले यो सोच बदल्नुपर्छ । किनकी गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्गानिक’ को परिभाषालाई बृहत् बनाउनु पर्छ’, अभिनेता लामिछानेले भने ।
यस चलचित्रमा अभिनेत्री केकी अधिकारीले डेरावालको भूमिकामा छिन् । अभिनेत्री अधिकारीले चलचित्रमा अन्य पक्षको कथा पनि देख्न पाइने बताइन् । ‘डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिएता पनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो’, उनले भनिन्। चलचित्रमा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् । यो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।