‘असल अभ्यास साटासाटका माध्यमबाट अधिकतम फाइदा लिनुपर्छ’


२०८२ बैशाख १७ मंगलबार ०२:०५ बजे

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले असल अभ्यासलाई सबै महिला समूहबीच साटासाट गरेर लाभ हासिल गर्नेतिर ध्यान दिनुस् भन्दै महिलाहरूलाई हौसला प्रदान गरेका छन् । 

ललितपुर महानगरपालिकाको समाज कल्याण महाशाखाले आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले असल अभ्यास साटासाटका माध्यमबाट अधिकतम फाइदा लिन आग्रह गरे । ‘सर्वोत्कृष्ट हुने महिला समूह र उत्कृष्ट हुने सबैलाई बधाई तथा सफलताको कामना छ, आफ्नोआफ्नो समूहमा गरेको उत्पादनलाई बजारको मागअनुसार बिक्री गरेर लाभ हासिल गर्न आग्रह गर्न चाहन्छु’, उनले भने ।

महानगर प्रमुख महर्जनले अहिलेसम्म ललितपुर महानगरपालिकाले महिला वडाध्यक्ष पाएको छैन भन्दै अबको निर्वाचनमा यो रेकर्ड तोडिनुपर्ने बताए । ‘अबको स्थानीय निर्वाचनमा घटीमा पनि पाँच जना महिला वडाध्यक्ष निर्वाचित हुनुपर्छ । तपाईंहरू सशक्त भएर लाग्नुस्’, उनले भने ।

महानगरले यसपटक वडा नं ९ को सप्तखेल महिला समूहलाई सर्वोत्कृष्ट महिला समूहमा चयन गरी पुरस्कृत गरेको हो । सानेपा साँचलको सृष्टि महिला समूह लगातार तेस्रोपटक उत्कृष्ट हुन सफल भई पुरस्कार हात पार्न सफल भयो । त्यस्तै वडा नं १६ को रत्नाकर उद्यमी महिला समूह र वडा नं २९ को हरिसिद्धी महिला समूह दोस्रो पटक उत्कृष्ट हुन सफल भए।

वडा नं ५ को थसिखेल महिला समूह, वडा नं ६ को ज्याठा मिसा पुच, वडा नं १२ को चाबहा महिला समूह, वडा नं १४ को सामुदायिक महिला उद्यमी समूह र वडा नं १९ को इखाननी मिसा पुच, इखालखु प्रथम पटक उत्कृष्ट हुन सफल भए। महानगरले हरेक वर्ष सर्वोत्कृष्ट र उत्कृष्ट महिला समूहलाई पुरस्कृत गर्दै आएको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस पटक उत्कृष्ट हुन नसकेको समूहलाई अर्को पटक उत्कृष्ट हुनेगरी काम गर्न आग्रह गरिन् । महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संंयोजक एवं  वडा नं ९ का अध्यक्ष राजु महर्जनले गत वर्षभन्दा यस वर्ष महानगरमा नौ वटा महिला समूह थपिएको बताए । उनले महिला समूहको व्यवस्थापनका लागि महानगरले कार्यविधि लागू गरेर व्यवस्थापन गर्ने बताए ।

उत्कृष्ट महिला समूह मूल्याङ्कन समितिका संयोजक अनिलवीर बज्राचार्य २६९ वटा महिला समूहका सदस्यले लिएको सीपमूलक तालिम, क्षमता अभिवृद्धि कार्यक्रममार्फत भएको रोजगारी सिर्जना, जनशक्ति परिचालन, प्रतिवेदन तयार गरी गरेको सम्प्रेषणको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट महिला समूह छनोट गरिएको जानकारी गराए । वडा नं १ का सदस्य एवं उत्कृष्ट महिला समूह मूल्याङ्कन समितिका सदस्य शरणलक्ष्मी महर्जनले महानगरभित्र ४७९ वटा महिला समूह सञ्चालनमा रहेको जानकारी गराए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७