सुई लगाउना साथ युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार

कञ्चनपुर । कैलालीमा उपचारका क्रममा सुई लगाउना साथ एक युवकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ आमफाँटाका ३५ वर्षीय निरजबहादुर शाहीको मृत्यु भएको हो ।
इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारको क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले जानकारी दिएका छन् । शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफै मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए । त्यहाँ जाँच पश्चात ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए ।
सुई लगाएको केहीबेरमै शाहीको मेडिकलमै ज्यान गएको हो । घटना लगत्तै सुई लगाउने चौधरी फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन् । मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।