कांग्रेस सांसदको प्रस्ताव : संविधान संशोधन गरेर शिक्षकलाई संघ अन्तर्गत राखौं

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकार अन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन्। आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे । सांसद तिमल्सिनाले शिक्षकका मागहरु पूरा गर्न २७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे ।
‘शिक्षालाई स्थानीय तहमा नराख्न संविधान संशोधनको कुरा आउँछ । अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार,’ उनले भने, ‘तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्यो । नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौं ।’ उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुने माग संविधान संशोधन गरेर पूरा गर्न तयार हुनुपर्ने बताएका छन् । सरकारमा अहिलेको विपक्षी दलहरू पनि रहिसकेकाले गोहीका आँशु निकालेर केही फाइदा नहुने उनले बताए ।