तत्काल गभर्नर नियुक्त गरियोस् : सांसद खतिवडा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले शिक्षकहरू कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको बताए । उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताए । उनले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर तत्काल गभर्नर नियुक्त गर्नुपर्ने बताएका छन् ।