गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध ७ लाख ७९ हजार २०५ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।
धनकौल गाउँपालिकाका–६ स्थित कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०÷०८१ को प्राविधिक इस्टिमेट बमोजिम काम नगरी मिलेमतोमा रकम अनियमितता गरेको आयोगले जनाएको छ ।
आयोगले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा नं. ६ का वडा अध्यक्ष श्याम बाबु साहविरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
तोकिएको शर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाई बनाएर ७ लाख ७९ हजार २०५ रूपैयाँ भन्दा बढी रकम भुक्तानी लिई÷दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।