कमल थापाको सभामा पुगेर लिङदेनको अपिल : पूर्वाग्रह त्यागौं, राजसंस्थाका लागि जुटौंं

‘लोकतन्त्रका नाममा निरंकुशता र लुटतन्त्र हाबी’ 


२०८२ बैशाख १६ सोमबार १८:०९ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रका नाममा हाल देशमा निरंकुशता र लुटतन्त्र हाबी भएको आरोप लगाएका छन्। आज (सोमबार) काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। ‘अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको निरंकुशता र लुटतन्त्र हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक अर्को विकल्प र शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ’, उनले भने ।

उनले सबै प्रकारका आग्रह–पूर्वाग्रह त्यागेर देशलाई निकास दिन तयार हुनुपर्नेमा जोड दिए । यसका निम्ति आफ्नो पार्टी तयार रहेको उनले बताए । ‘राजसंस्थाको आवाज उठाउने हाम्रा साथीहरूलाई खोजीखोजी कस्टडीमा राखिएको छ । लोकतन्त्र र मानवअधिकारको कुरा गर्नेहरूले चैत १५ गते लोकतन्त्र र मानवअधिकारको खिल्ली उडाए’, उनले भने ।अलोकतान्त्रिक र मानवअधिकारविरोधी गतिविधिका विरुद्ध सशक्त गतिविधि अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । ‘लोकतन्त्रको नामको लुटतन्त्रको विरुद्धमा जुटौं । चैत १५ गतेको घटनाको न्यायिक छानबिनको लागि सशक्त आवाज उठाऔं’, लिङदेनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रममा राप्रपाले ऐक्यबद्धता जनाउने उनले बताए । ‘हामी सबै सँगै छौं । सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै दुविधा नरहोस्’, उनले भने । अध्यक्ष लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन् । उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरेका छन् । सोमबार राप्रपा, नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका लिङ्देनले यस्तो अपिल गरेका हुन् । कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।

लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए । ‘राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भनेर उनी राप्रपाबाट अलग भएका थिए । यो घटनाका कारण केही वर्ष एकअर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७