शिक्षकमाथि दमन गरेर सरकारले बहुमतको अत्याचार देखायो : माओवादी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षक महासंघको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति विरोध जनाएको छ । माओवादीले शिक्षकमाथि सरकारले बहुमतको अत्याचार गरेको आरोप लगाएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले शिक्षकका जायज माग पूरा गरेर कक्षा कोठामा फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शान्तिपूर्ण शिक्षक आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाए । ‘शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि सरकारले लाठीचार्ज, पानीको फोहोरा हानेर घाइते बनाएको प्रति भत्र्सना गर्छु,’ शर्माले भने । उनले विगतमा गरिएका सहमति कार्यान्वयन नगरेर शिक्षकमाथि धोका भएको भन्दै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
पूर्व शिक्षामन्त्री एवं रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकमाथि दमन गरेर सरकारले बहुमतको अत्याचार गरिरहेको आरोप लगाइन् । ‘सरकारले बहुमतको अत्याचार देखाइरहेको छ, शिक्षकमाथि दमन गरेर अधिनायकवाद लाद्न खोजेका छ,’ श्रेष्ठले भनिन् । उनले शिक्षा ऐनको पालना गरेर शिक्षकले पनि राजनीतिक दलको सदस्यता त्याग्नु पर्ने बताइन् । ‘शिक्षकहरू पनि राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता नबन्नू । नेताको अगाडि उठबस गर्ने दास नबन्नू,’ उनले भनिन् ।
राप्रपाकी रोशन कार्कीले शिक्षकमाथि आइतवार काठमाडौंमा भएको दमको विरोध गर्दै उनीहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरिन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सूर्य थापाले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूको ध्यानाकर्षण गराए । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको उनले बताए ।