टिकटक बनाउन बोलाएर बालकको गोली हानी हत्या

रौतहट । रौतहटमा टिकटक बनाउने बहानामा बोलाएर एक बालकको गोली हानी हत्या गरेको खुलासा भएको छ। १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदीखोलामा पुर्याई हत्या गरेको पाइएको हो । ६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
दिउँसो ४ बजे घरबाट बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका–८ को चाँदीखोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदीखोलातर्फ लगेका थिए । दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बहानामा बोलाएर हत्या गरेको देखिएको छ ।
‘केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको रहेछ । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका रहेछन्,’ प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’
सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा दुई राउण्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको घिमिरेले बताए । हत्यापपछि दुवै जनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको छ ।
उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका–४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले जानकारी दिए । मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पुर्याएका थिए ।
घटनामा प्रयोग भएको कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्यागजिन र गोली पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।