नव नियुक्त शिक्षामन्त्रीसँग वार्ता गर्न शिक्षक नेता पुगे सिंहदरबार

काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेपछि शिक्षक महासंघका नेताहरु वार्ताका लागि मन्त्रालयमा पुगेका छन्। नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालका अनुसार २५ जनाको टोली वार्ताका लागि सिंहदरबार गएको छ । नेपाल राष्ट्रिय शिक्षक संघ, नेपाल प्रगतिशील शिक्षक संघ र नेपाल शिक्षक महासंघका पदाधिकारी मन्त्रालय पुगेका हुन् ।
उपमहासचिव रामप्रसाद ढकालले भने, ‘नयाँ मन्त्रीले आह्वान गर्नु भएकाले यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ ।’ सो अवसरमा शिक्षकले मन्त्री पन्तलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि रहेको उनले जानकारी दिए । पदभार ग्रहण गरेको पछिल्लो दिन शुक्रबार (आज) वार्ताका लागि मन्त्री पन्तले सरकारका तर्फबाट पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासंघ राष्ट्रिय समितिलाई बोलाएका थिए । महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरू अहिले गेट पासका लागि कागजपत्र तयार गरिरहेको जानकारी दिएका छन् । उनले यो वार्ता नभई छलफलमात्र भएको बताए । उनले भने, ‘मन्त्री ज्यूले बोलाउनु भएको छ । हामी भित्र जाँदैछौं ।’
हिजो मात्र सर्वोच्च अदालतले शिक्षकको माग तीन ३ भित्र सम्बोधन गर्ने गरी आवश्यक वातावरणका लागि आदेश दिएको छ । मन्त्री पन्तले शिक्षकहरूसँग विगतमाझैं निरन्तर संवाद तथा छलफल गरी सामहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेको जानकारी गराएका छन् । गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन् ।