राप्रपाको सभास्थलबाट घुसपैठको आरोपमा केहि व्यक्ति नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बल्खुमा जारी खबरदारी सभाबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (मंगलबार) बल्खुमा राप्रपाको प्रदर्शनबाट घुसपैठ गरेको खोजेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
राप्रपाले बल्खुमा हुने कार्यक्रम शान्तिपूर्ण गर्ने बताउँदै आएको छ । यस्तै घुसपैठ गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् । व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरूद्ध भन्दै राप्रपाले प्रदर्शन र सभा गरेको हो ।
सभालाई राप्रपाका नेताहरूले सम्बोधन गरेका छन् । खबरदारी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्नेछन् । राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी लगायत एजेण्डामा अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको थियो । जसअनुसार मंगलबार बागमती प्रदेशस्तरीय प्रदर्शन र सभा भएको हो । राप्रपाले वैशाख ७ गतेदेखि काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन गर्ने बताएको छ ।