पूर्व उपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई उपाध्यक्ष बनाउन नेकपा माओवादी केन्द्रमा सहमति जुटेको छ । यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनलाई उपाध्यक्षमा मनोनीत गर्नेछन् ।
‘अध्यक्षसहित हामी सबै (पदाधिकारी तहका नेता) उहाँलाई (पुनलाई) उपाध्यक्षमा मनोनीत गर्ने विषयमा सहमत भएका छौं । अब यसको अन्तिम निर्णय अध्यक्षले गर्नु हुनेछ’, माओवादीको पदाधिकारी तहका एक नेताले सुनाए । उनका अनुसार अब प्रचण्डले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य हुँदै उपाध्यक्षमा मनोनीत गर्नेछन् ।
पुनलाई उपाध्यक्ष बनाएर माओवादीको सक्रिय राजनीतिमा ल्याउने विषयमा पटक–पटक छलफल भएका थिए । खासगरी अध्यक्ष प्रचण्डले यसमा जोड दिइरहेका थिए । तर, पार्टीभित्र सहमति जुट्न सकेको थिएन । पूर्व उपराष्ट्रपति पुन भने पार्टीको कुनै जिम्मेवारी नपाउँदै माओवादीको पदाधिकारी बैठकमा समेत सहभागी हुने गरेका थिए ।
माओवादीले केही समय पहिले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो । उपराष्ट्रपति बन्नुअघि उनि माओवादीको राजनीतिमा सक्रिय थिए । उनले दुई पटक उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।