नेपाल पराजित, अफगानिस्तानले जित्यो ‘युथ ओडीआइ सिरिज’

काठमाडौं । अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो युथ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको छ ।
काठमाडौं मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १६७ रन मात्र बनायो । नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १२६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २÷२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २÷२ विकेट लिए । योसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा एक खेलअघि नै जितेको छ । पहिलो खेलमा अफगानिस्तानले नेपाललाई १३० रनले हराएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।
यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्ने छन् ।