रास्वपा नेता संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता टीका संग्रौला (ज्वाला) लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ।
न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो । गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो ।
उक्त आदेशविरुद्ध अदालतले अवहेलना हुनेगरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन्। उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए ।