कहाँ गए दुर्गा प्रसाई ? के भन्छन् प्रहरी ? 


१५:०६ बजे

काठमाडौं । काठमाडौंको तीनकुने–कोटेश्वर क्षेत्रमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउन दुर्गा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले पूर्वी नेपालको इटहरीमा भेटिएको छ । तर आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईको भेउ अझै प्रहरीले पाउन सकेको छैन ।

गाडी भेटिए पनि प्रसाई त्यतै गएको तथ्य पुष्टि नभएको प्रहरीले जनाएको छ ।सो गाडी, त्यसका मालिक र चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले गाडी कतै फेला पर्‍यो भन्दैमा दुर्गा प्रसाई पनि त्यतै छन् भन्न नमिल्ने बताएका छन् । प्रहरीका अनुसार उक्त दिन अपराह्न ३ बजेर २६ मिनेट जाँदा पेरिसडाँडामा अन्तिम पटक बीएबी ४२०८ नम्बरको स्कोर्पियो गाडीमा देखिएका प्रसाई त्यसपछि कतै भेटिएका छैनन् ।

उपत्यका अपराध अनुसन्धानको टोलीले तीन दिनअघि इटहरीमा गाडी फेला पारे पनि उनी आफैं उक्त गाडीमा भएका थिए भन्ने कुरालाई पुष्टि गर्ने कुनै आधार फेला नपरेको एसएसपी बस्नेतले बताएका छन् । प्रहरीले गाडीको साथमा उक्त गाडीका मालिक मुकुन्द दाहाल र चालक ईश्वर विकलाई पक्राउ गरेको छ । गाडीसहित दुई व्यक्तिलाई काठमाडौं ल्याइएको बस्नेतले बताए ।

‘पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी परिसरमा बुझाएका छौं । गाडी हामीसँगै छ’, उनले भने । त्यसमध्ये चालक विक रिहा भएका छन् भने दाहाललाई आपराधिक उपद्रव मुद्दामा म्याद थप गरिएको छ । पक्राउ परेका व्यक्तिले प्रसाईंलाई झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा छोडेर आफूहरु इटहरीतिर फर्किएको भनी बयान दिएको विषयलाई उनले अस्वीकार गरे ।

यद्यपि अनुसन्धानका सम्पूर्ण उपाय प्रयोग गरिएको र चौतर्फी अनुसन्धान केन्द्रित गरिएको उनले बताए । गाडी नियन्त्रणमा संलग्न प्रहरीका अनुसार सीसीटीभी फुटेजको अध्ययन र विभिन्न स्थानमा तैनाथ प्रहरी युनिटको सूचनाका आधारमा गाडी फेला परेको हो, तर उक्त गाडीमा दुर्गा प्रसाई पनि सवार थिए भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन । यसअघि प्रसाईले भिडियो सन्देश आफ्नो आधिकारिक फेसबुक पेजमा हाल्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको बताएका थिए । उनले भिडियो सन्देशमा उक्त दिनको घटनालाई लिएर सुरक्षाकर्मीसँग माफी समेत मागेका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७