जनचाहनाअनुसार काम हुन नसक्दा दलप्रति आक्रोश बढेको छ : अध्यक्ष यादव

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । आज रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको पत्रकार सञ्चार संवाद कार्यक्रममा उनले कुनै पनि बाहनामा हुने आपराधिक र हिंसात्मक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
अध्यक्ष यादवले भने, ‘लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न र बोल्न पाउने अधिकार छ तर चैत १५ गते राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको छ। त्यस दिन भएका सबै गतिविधि हिंसात्मक एवं आपराधिक भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’
एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा फेरि एकात्मक शासन र हिन्दू राज्यसहितको राजतन्त्र स्थापना गर्नेहरूलाई सल्बलाउन नदिन राजनीतिक दल पनि सच्चिनु पर्ने उनको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनताले अपेक्षा गरेअनुसार राजनीतिक दलले सत्ताको बागडोर सम्हाले पनि जनताको चाहनाअनुसार काम हुन नसक्दा दलप्रति आक्रोश बढेका अध्यक्ष यादवले जिकिर गरे ।
‘संघीय सरकारले नै संघीयताको सबल कार्यान्वयनमा अवरोधको भूमिका निर्वाह गरेको छ । प्रदेशलाई प्रदान गरिएका अधिकारमा रोक लगाएको छ । प्रहरी समायोजन, कर्मचारी समायोजन ऐनलगायत विभिन्न विषय अल्झाएर काम गर्न असक्षम बनाएको छ’, उनको आरोप थियो ।