खसी–बोका बोकेको गाडी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

काठमाडौं । काठमाडौँको नागार्जुनमा खसीबोका बोकेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै गए राति पौने नौं बजेतिर प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट खसेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको भिमसेन गाउँपालिका– ४ घर भएका का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले नेपालखबरलाई दिएको जानकारीअनुसार दुर्घटनामा गाडी चालक गोरखाकै भिमेश्वर – ४ कै ४१ वर्षीय जमालुदिन मिया र सोही ठाउँका ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।
भट्टको भिमढुंगाको नर्सरी चोकमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। गाडीका चालक मियाको भने स्वयम्भूस्थित मनमोहन अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताएका छन् ।