बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा यसरी वैकल्पिक सडक निर्माण गरिंदै 


१९:५२ बजे

काभ्रेपलाञ्चोक ।  गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सीमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ ।

काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ ।

कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए ।

खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सीमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो । 

‘तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ’, उनले भने, ‘अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौँ ।’

भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेंसी, नार्के, गिम्दीबेंसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुनेछ ।

सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७