म्यान्मार भूकम्प : मृत्यु हुनेको संख्या १,६४४ नाघ्यो

काठमाडौं । म्यान्मार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार ६४४ पुगेको छ । भूकम्पमा परी तीन हजार ४०८ जना घाइते भएका छन् । मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पले थप क्षति पुर्याएको थियो ।
यो विनाशकारी भूकम्पले भवन, पुल, सडकसहित १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुर्याएको छ । म्यान्मार सरकारका अनुसार एक हजार ६४४ जनाको ज्यान गएको पुष्टि भएको छ भने थप तीन हजार ४०८ जना घाइते भएका छन् । यस्तै, भूकम्पको प्रभाव बैङ्ककसम्म पुग्दा त्यहाँ १० जनाको मृत्यु भएको र १०० भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ ।
सञ्चार प्रणाली अवरुद्ध हुनुका साथै विमानस्थल र सडकहरू बन्द भएकाले राहत र उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ । खोजी तथा उद्धार प्रयास जारी रहे पनि मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ । प्रभावित क्षेत्रमा उद्दार तथा राहतको लागि जुट्न म्यान्मार सरकारले अपिल गरेको छ ।
भूकम्पबाट नजिकै रहेको देश थाइल्याण्डमा पनि केहि क्षेति भएको छ । तथ्याङ्क थाइल्याण्डमा १० जना भन्दा बढिको ज्यान गएको छ भने विभिन्न क्षेत्रमा त्रास पैदा भएको छ । भूकम्पको धक्का म्यान्मार, थाइल्याण्ड सहित भारत, बंगलादेश लगायतका क्षेत्रमा समेत महशुस गरिएको थियो । एजेन्सी