पार्टी कार्यालय आगो लगाइएपछि नेकपा एसले भन्यो– सरकारले सुरक्षा दिन सकेन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले सुरक्षाको प्रबन्ध गर्न नसकेकैले राजावादीले आलोकनगरको पार्टी कार्यालय जलाई दिएको बताएको छ । आज (शुक्रबार) साँझ विज्ञप्तिमार्फत एकीकृत समाजवादीले बिहान ११ बजेदेखि नै सुरक्षाको माग गरे पनि बेवास्ताका कारण राजावादीले पार्टी कार्यालय जलाएको बताएको हो ।
‘आज दिउँसो ३ः१५ बजे पुनरुत्थानवादी तत्वले जम्मा गरेका हुल्लडबाजहरूको एक जत्थाले हाम्रो पार्टीको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय (आलोकनगर, बानेश्वर, काठमाडौं) मा आक्रमण गरेर आजजनी र तोडफोड गरेको छ । केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाएको छ । आफूलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको यस प्रकारको कुकृत्यको हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ,’ एकीकृत समाजवादीले विज्ञप्तिमार्फत् भनेको छ।
उसले लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरष्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो अपिल पनि गरेको छ ।
‘पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज बिहान ११ बजे नै प्रहरीलाई खवर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुन थालेपछि फेरि तुरन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रवन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापर्वाही हो अहिले यी हुल्लडवाजहरूले अन्य कैयन् सर्वसाधारणको सम्पतिमाथि पनि श्रृङ्लाबद्ध आक्रमण गरेर लुटपाट गरेका समाचारहरु आइरहेका छन् । यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ,’ एकीकृत समाजवादीको ठहर छ ।
एकीकृत समाजवादीले सरकारी संयन्त्रको यस प्रकारको लापरबाहीप्रति निन्दा समेत गरेको छ । साथै नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा संलग्न सबै अपराधीहरुलाई यथाशीघ्र कडा कारबाही गर्न माग गरेको छ ।