मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनु पर्नेछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले नयाँ सिराबाट मुलुक अगाडि बढाए मात्र विकास हुने बताए ।
महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको बताए । कतिपयले पञ्चायत शासनकालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै महासचिव पोखरेलले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गरे ।
उनले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भनाइ राखे । अलोकतान्त्रिक गतिविधि बढेको भन्दै उनले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको बताए ।
सो घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिएको छ । सोही र्यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो । भेलामा युवा संघका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताए ।