बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

म्याग्दी । क्षमताभन्दा बढी तौलका मालबाहक सवारीसाधन गुडाउँदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन् । बढी तौलका सवारीसाधन गुडाउँदा बेलिब्रिज जीर्ण बन्नुका साथै दुर्घटनाको जोखिम बढेको हो ।
बेलिब्रिजमा क्षति हुँदा अन्तरदेशीय व्यापारिक कोरलानाका जोड्ने सडकमा यातायात ठप्प हुन्छ । बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ खोला, वडा नं ३ दानाको रुप्सेखोला, बेनी र पर्वतको बगरफाँटको सिमाना कालीगण्डकी, मुस्ताङको कोवाङ, बोक्सी र टुकुचेको थापाखोलामा बेलिब्रिज छन् । ती बेलिब्रिजको भारबहन क्षमता अधिकतम १८ मेट्रिक टन हो ।
एक पटकमा एउटा मात्र सवारीसाधन तार्न मिल्ने बताउँदै निर्माण र खाद्य सामग्री बोकेका १८ मेट्रिकटनभन्दा बढी तौल भएका ट्रक, टिपर, लरी, टेलर बेलिब्रिजबाट तारिँदा भाँचिने र भत्किने जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले उल्लेख गरे ।
क्षमताभन्दा बढी तौलका सवारीसाधन बेलिब्रिजबाट गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले निगरानी थालिएको उनले जानकारी दिए । ‘भार थाम्न नसकेर बेलिब्रिज भाँचिने र भत्किने जोखिम बढेपछि केही दिनदेखि म्याग्दीबाट मुस्ताङ जाने सवारीसाधनलाई पोखरेबगर र मुस्ताङबाट बेनीतर्फ आउने बेलिब्रिजको क्षमताभन्दा बढी तौलका सवारीसाधनलाई जोमसोम रोक्न थालेका छौं’, उनले भने, ‘बढी तौलका सामान झारेर हलुका बनाउँदै र पालो गरी तार्ने गरिरहेका छौँ ।’
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकका पक्की पुल निर्माण नभएका ठाउँमा अस्थायी रूपमा सवारीसाधन आवतजावतका लागि बेलिब्रिज जडान गरिएको छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेलिब्रिजहरूमा क्षमताभन्दा बढी तौलका सवारीसधान सञ्चालन नगर्न आवश्यक जानकारीसहित सूचना बोर्ड राखिएको जनाएको छ ।