ओली, देउवा र प्रचण्डलाई मिलौं भन्दै भुसालले भने–यो संकट यसै जानेवाला छैन

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजा र राजावादीका सक्रियतालाई ‘संकट’ का रूपमा व्याख्या गरेका छन् । आज (शनिबार) बुटवलमा आयोजित पार्टीको रुपन्देही जिल्ला कमिटीको दशौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यो संकट यतिकै नजाने बताएका छन् ।
‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन । रोजगारी र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने एजेण्डामा आउनुस्,’ उनले भने । महासचिव भुसालले १० वर्षमा रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी सर्वदलीय सम्मेलनको प्रस्ताव पनि गरे । तर, अहिले यी तीनै नेताले नसुन्ने र अराजनीतिक मान्छेहरूले लखेट्न थालेपछि बल्ल बुझ्ने भुसालको भनाइ थियो । ‘यिनीहरूले अहिले सुन्दैनन्, दम्भ, घमण्डले सुन्दैनन् । जब अराजनीतिक मान्छेहरूले लखेट्न थाल्छन् बल्ल बुझ्छन्,’ उनले भने ।
भुसालले नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्यूँझिएर आउन सम्भव नरहेको टिप्पणी गरेका छन्। यद्यपि, राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सल्बलाएको उनको भनाइ छ । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै भुसालले अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताएका छन् ।
कुशासन र बेरोजगारी समस्याका कारण पुनर्उत्थान र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने भुसालको भनाइ छ । महासचिव भुसालले राजनीतिक रूपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालमा खतरा निम्तिने उल्लेख गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रह समेत गरे ।
‘कुनै जमाना यस्तो थियो, ओलीजी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थे’, महासचिव भुसालले भने, ‘तर, आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो । यो सामान्य कुरा होइन ।’ भुसालले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड त्याग्नुपर्ने टिप्पणी गरे ।
नेकपा एकीकृत समाजवादीले मुलुकमा भएको अस्तव्यस्तताबाट बाहिर निकाल्न र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको बताउँदै त्यसैको आधारमा राष्ट्रिय एजेण्डामा आउन उनको आग्रह छ । राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गरेको भुसालको टिप्पणी छ । उनले अहिले पनि वर्तमान अवस्थालाई दुई तिहाइको सरकारले नबुझ्ने हो भने राजावादी वा पुनर्उत्थानवादीहरू थप सक्रिय हुने बताए ।
‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो । हामी त्यसैका लागि आन्दोलनको मैदानमा होमिएका छौं’, उनले भने, ‘एकीकृत समाजवादी अब सत्तामा गएर दुईवटा मन्त्री लिएर बस्दैन । जनतामा जान्छ, एक्लै आन्दोलनको शुरूआत गर्छ।’ कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले संविधानको रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए ।
उनले अहिलेको राजनीति पनि आफूहरूको पार्टीकै वरिपरि घुमेको बताए। यस्तै, सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरूको भएको दाबी गरे । उनले नेपाली विशेषताको समाजवादको कार्यक्रम, त्यसबाट समृद्धि र कम्युनिस्ट एकताको कुरा गरेको बताए ।