देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : महासचिव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमु मुक्तिमोर्चा गोरखाको छैटाँं जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले देशमा राजतन्त्र फर्काउने बहानामा चलखेल र षडयन्त्र भइरहेको बताए ।
‘प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सिर्जना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन’, महासचिव गुरुङले भने, ‘यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’ उनले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राखे ।
मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए । ‘सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ । त्यो वातावरण बन्दैछ’, उनले भने ।