राजनीतिक दलहरुले स्ववियुको नाममा क्याम्पसहरुमा ताण्डव देखाए : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी छिन् ।
आज (बुधबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताइन् । उनले क्याम्पसहरुमा महिना दिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । विद्यार्थीको पढ्न पाउने हक सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘स्ववियुको नाममा क्याम्पसहरुमा दलहरुको ताण्डव भइरहेको छ । यो के भएको ? आफ्नो गुट, उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरुको दुरुपयोग भइरहेको छ सभामुख महोदय । विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले पढ्न नपाएको एक महिना भयो । म यसमा प्रधानमन्त्री ज्युको ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस् ।’