पीएन क्याम्पसमा रोकिएको मतदान अब भोलि मात्रै

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भोलि (बुधबार) मात्र हुने भएको छ । मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैठौंले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।
तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो । अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । ‘मतदान गर्ने कार्यमा सहयोग गरिदिनु हुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध गर्दछौँ’, निर्वाचन समितिले भनेको छ । निर्वाचन समितिको त्रुटिका कारण निर्वाचन नै अन्योल भएको भन्दै विद्यार्थी संगठनले नाराबाजी र प्रदर्शन गर्दै छिटो निर्वाचन गराउन माग गरेका थिए ।
नाराबाजीकै क्रममा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच सामान्य झडप समेत भएको थियो । निर्वाचन समिति र क्याम्पस प्रशासनविरुद्ध विद्यार्थीले नाराबाजीसमेत अहिले पनि गरिरहेका छन् । अनेरास्ववियु र नेवि संघ क्याम्पस गेटमा नाराबाजीका बीच धकेलाधकेल हुन थालेपछि प्रहरीले स्थिति बिग्रन दिएको थिएन। क्याम्पस गेटमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
समानुपातिकतर्फको मतपत्रमा चिह्न नै समावेश नगरी छापेर निर्वाचन समितिले चुनाव नै प्रभावित गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाइरहेका छन् । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ ।
अनेरास्ववियुको बिरासत तोड्न अहिलेसम्म अरू संगठनले सकेका छैनन् । यसपटक भने संगठनहरू बिरासत जोगाउने र भत्काउने रणनीतिमा छन् । स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी चुनावी मैदानमा छन् ।
यसैगरी अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीले साथ दिएका छन् । कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ । पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीबीच विवाद भएपछि अघिल्लो स्ववियु निर्वाचन पनि हुन सकेको थिएन ।