प्रधानमन्त्री कप क्रिकेट :  कोशीमाथि कर्णालीको फराकिलो जित


२०८१ चैत ५ मंगलबार २०:५३ बजे
तस्वीर : क्यान

रूपन्देही । कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याएको कोशीका सुरुआती ब्याट्सम्यानहरूले केही टिकेर खेल्न खोजे पनि उनीहरू पेभेलियन फर्केसँगै कोशीको ब्याटिङ ‘लाइनअप’ ध्वस्त हुन पुग्यो ।

दुई सय १९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए । यस्तै, साकिब हकले १३ रन र अङ्कित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन् सकेनन् । कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दीपेन्द्र रावतले तीन-तीन विकेट बाँडे  । यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए । 

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए । 

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई-दुई विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा एक-एक विकेट रह्यो । यससँगै कर्णाली प्रदेशले अंक तालिकामा थप दुई अंक जोडेको छ । पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जित निकाल्दै चार अंक ल्याएको छ भने छ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जितका साथ दुई अंक ल्याएर प्रतियोगिताको अंक तालिकामा पुछारमा पुगेको छ । अंक तालिकामा शीर्ष दुई स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७