नेविसंघले पद्मकन्यामा ऐरलाई दियो आधिकारिकता

काठमाडौँ । पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको नेविसंघले स्पष्ट पारेको छ । निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो ।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका हुन् ।
परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन् । भोलि (मंगलबार) त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
यसका लागि तयारी पूरा हुने क्रममा रहेको क्याम्पसहरुले जनाएका छन् । केही क्याम्पसमा निर्विरोध भइसकेका छन् भने केही क्याम्पसमा आन्तरिक विवादले मंगलबार निर्वाचन हुने छैन । सो क्रममा मंगलबार पद्मकन्या क्याम्पस (पिके) को निर्वाचन पनि हुँदैछ । तर त्यहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) मा भने आधिकारिक उम्मेदवारबारे परेको दाबी विरोधको केन्द्रीय कार्यालयबाटै स्पष्ट पार्नु परेको छ ।